WOREC Nepal

हाम्रो बारेमा

Printer-friendly versionSend to friend

परिचय 
 
महिला पुनःस्थापना केन्द्र (ओरेक), नेपाल महिला अधिकार प्रति समर्पित एंव सामाजिक न्यायका निम्ति सङ्घर्षरत एक गैरसरकारी संस्था हो। २०४७ चैत्र १९ मा स्थापित यो संस्थाले आफ्नो स्थापनाकाल देखि नै सामाजिक न्याय र महिला अधिकार स्थापनाको अभियानलाई अगाडि सार्दै आएको छ। यो संस्थाले महिला हिंसा विरूद्ध र आर्थिक सामाजिक, सांस्कृतिक अधिकारको अभियानलाई अगाडि बढाइरहेको छ। महिला हिंसा विरूद्ध अभियान अन्तर्गत महिला मानवअधिकार रक्षकको पहिचान तथा सुरक्षा, मानव बेचविखन/ओसारपसार विरुद्धको कृयाकलाप र महिला सशक्तिकरण कार्यक्रम संचालन गर्नुका साथै आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार अर्न्तगत खाद्य अधिकार, स्वास्थ्य अधिकार र सुरक्षित स्थानागमनको अधिकारका लागि वकालत गरिरहेको छ। 
 
उपरोक्त कृयाकलापहरु संचालन गर्ने क्रममा ओरेकले सामुदायिक सङ्घ,संस्थाहरूको सवलीकरण र सुदृढिकरण गर्दै सामाजिक न्याय स्थापित गर्न ग्रामीण स्तरदेखि राष्ट्रियस्तरसम्म विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ। शिक्षा, स्वास्थ्य, पोषण लगायत अन्य क्षेत्रमा महिला र बालबालिका माथि गरिने भेदभाव र मानव बेचविखन महिलाहरूको आधारभूत मानवअधिकारको हनन भएकाले यसको अन्त्य गर्नका लागि महिलाहरूका विशिष्ट अधिकारहरू सुनिश्चित गरिनु पर्दछ भन्ने मान्यता यस संस्थाको रहेको  छ। 
 
महिला अधिकारको रक्षा तथा पुनर्स्थापनाको लागि कार्य गर्ने क्रममा ओरेकलाई आगामी पाँच वर्षका लागि निर्देशित गर्नका लागि मिति २०६५ असार ११–१२ गते ललितपुरको गोदावरी आश्रममा ओरेक नेपालका सदस्य, कर्मचारीहरु लगायतका महिला मानव अधिकारकर्मीहरुको भेलाले ४ दिन सम्म छलफल गरी यो रणनैतिक दिशा प्रदान गरेको छ। यस अघि सन् १९९६ देखि नै ओरेकले आवधिक रणनैतिक योजना तयार गरी आफ्ना गतिविधिहरु अगाडि बढाइ रहेको छ। 

 

 लक्ष्य निर्धारण
 

ओरेक नेपालको बुझाईमा महिलामाथि हुने हिंसा आर्थिक, सामाजिक, राजनैतिक र सांस्कृतिक अवस्थाको परिणाम हो, जसमा महिला, दलित तथा पछाडि पारिएका समुदायहरूले आफ्नो अधिकार सहित सम्मानपूर्वक बाँच्न पाउने अधिकारबाट वञ्चित छन्। ओरेक नेपालका अनुसार महिलाका नागरिक, राजनैतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको हनन हुनु नै महिलामाथि हिंसा हुनु हो। त्यो बाहेक यौनिक, घरेलु र मानसिक हिंसा महिला भएकै कारणले बढी हुने गर्दछ। महिला र पुरुषको बीचमा रहेको असमान शक्ति सम्बन्ध, महिलालाई हेर्ने विभेदकारी नीति तथा कानुन, स्रोत र साधनमाथि पहुँच–नियन्त्रण र आफ्नै शरीरमाथिको नियन्त्रण समेत नभएकै कारण महिलाहरू हिंसा प्रभावित हुनु परेको ओरेक नेपालको ठहर छ। समाजमा शक्तिको असमान सम्बन्ध, स्रोत–साधनको असमान वितरण, भेदभावका कारण कुनै व्यक्ति निकै धनी, सम्पन्न, शक्तिशाली बन्छ भने अर्को तिर गरिब, विपन्न, शक्तिविहिन र वहिस्कृत बन्दै जान्छ। त्यस प्रकारको समाज सामाजिक अन्यायको समाज हो भने ति सबै  अन्त्य भएको समाज सामाजिक न्यायमा आधारित हुन्छ। ओरेक नेपालले परिकल्पना गरेको समाज पनि महिला हिंसामुक्त सामाजिक न्यायमा आधारित समाज हो।
 
विश्व जनसंख्या तथा नेपालको जनसंख्याको पनि आधा संख्यामा रहेका महिलाहरु अन्यायपूर्ण र विभेदयुक्त अवस्थामा बस्न पर्नु भनेको मानव अधिकारको घोर उल्लंघनको अवस्था हो। मानव अधिकारहरुको सम्मान, संरक्षण र प्रवर्द्धन विना कुनै पनि मुलुक तथा समाजमा उन्नति, प्रगति तथा शान्तिको परिकल्पना गर्न सकिन्न। तसर्थ ओरेक नेपाल मुलुकको आधा जनसंख्या ओगटेका महिलाहरु प्रति भइरहेको विभेद र तिनका विरुद्ध हुने हिंसाको अन्त्य नभइ तथा तिनको खाद्य, शिक्षा, स्वास्थ्य लगायतका आर्थिक, समाजिक तथा साँस्कृतिक अधिकारहरुको प्राप्ति नभएसम्म शान्ति तथा समृद्धि सम्भव नभएको कुरामा विश्वास राख्दै देहाय बमोजिमको परिकल्पनाका साथ लक्ष्य, मूल्यमान्यता तथा उद्देश्यहरु निर्धारण गर्दछ : 
 
 परिकल्पना (Vision)
 

सामाजिक न्यायमा आधारित महिलाअधिकार सुनिश्चितता सहितको समाज ओरेक नेपालको परिकल्पना हो। 
 
 परिलक्ष्य (Mission)
 
ओरेक नेपाल मानवअधिकारको सम्वर्द्धन र सामाजिक न्यायमा आधारित दिगो सामुदायिक विकासका लागि अभियानरत रहने छ। 
 
 लक्ष्य (Goal)
 
महिला सशक्तिकरणको माध्यमबाट आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारलाई सुनिश्चित गर्दै महिला विरूद्ध हुने हिंसाको न्युनीकरण गर्नु ओरेक नेपालको ल73य हुनेछ। 
 
 रणनैतिक उद्देश्यहरू 
 
क) महिलाहरुलाई आफ्नो अधिकार प्राप्तिको लागि तथा आफू विरुद्ध हुने हिंसाको अन्त्यको लागि संगठन तथा परिचालन गर्ने,
ख) महिला अधिकार प्राप्त गर्नका लागि महिला अधिकारकर्मी तथा लक्षित समूहको क्षमता अभिबृद्धि गर्ने,
ग) महिला अधिकार तथा सामाजिक न्यायका लागि वकालत तथा अभियानहरु संचालन गर्ने,
घ)    पितृसत्तात्मक मूल्यमान्यतामा आधारित सँस्कृतिलाई लैङ्गिक समानतामा आधारित सँस्कृतिमा परिवर्तन गर्नका लागि आम सचेतीकरण गर्ने, र
ङ)    समान उद्देश्य भएका संस्थाहरु तथा जनसंगठनहरुसँग सहकार्य गर्ने।

मूल्यमान्यता 

सामाजिक न्याय, इमान्दारी, एकता, महिलाले अगुवाई गरेको सामुहिक नेतृत्व, लोकतान्त्रिक पद्दति, स्वंयसेवी भावना, अधिकारमा आधारित साेच, प्राकृतिक स्रोतहरूको संरक्षण र सम्बर्द्धन तथ्य र तथ्याङ्कमा आधारित पैरवी यस संस्थाका मूल्यमान्यता हुन्।
 
रणनैतिक दिशा : 
 
आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारलाई सुनिश्चित गर्दै महिला विरूद्ध हुने हिंसाको न्युनीकरण गर्नु ओरेक नेपालको लक्ष्य भएको हुँदा सो लक्ष्यलाई प्राप्त गर्नका लागि ओरेक नेपालले दुई अन्तरसम्बन्धित अभियानलाई सशक्त रूपमा चलाउने छ र संस्थाको प्रत्येक कार्यक्रम तथा परियोजनाहरू महिला हिंसाविरुद्धको अभियान र आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार अभियान अन्तर्गत विभिन्न अभियानहरु संचालन हुने छन्। यी दुवै अभियान अन्तर्गत ओरेकका रणनैतिक उद्देश्य अनुरुप महिलाहरुलाई संगठित गर्ने, लक्षित समूह तथा महिलाअधिकार रक्षकहरुको क्षमता अभिबृद्धि, महिला अधिकार तथा सामाजिक न्यायका लागि वकालत, आम सचेतीकरण र सहकार्यको रणनीति अवलम्बन गरिने छ। 
 
महिला हिंसाविरुद्धको अभियान अन्तर्गत मुख्य रुपमा महिला बेचविखन विरुद्धको कार्यक्रम, महिला सशक्तिकरण अभियान र महिला मानव अधिकार रक्षक अभियान हुनेछ भने आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार अन्तर्गत महिलाहरुको खाद्य अधिकार, स्वास्थ्य अधिकार र सुरक्षित स्थानागमनको अधिकार अन्तर्गत कार्यहरु गरिने छ।