WOREC Nepal

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाइ ध्यानाकर्षण पत्र

Printer-friendly versionSend to friend

मिति २०६८÷०४÷१५

श्री माननीय नारायणकाजी श्रेष्ठज्यू  
उपप्रधानमन्त्री तथा गृहमन्त्री 
गृह मन्त्रालय, सिंहदरबार काठमाण्डौ

बिषय ः ध्यानाकर्षण–पत्र

यही २०६८ साल श्रावण १ गते  रौतहट जिल्ला चन्द्रहनिगाहपुरकी १९ वर्षिया किरण शाहको शंकास्पद मृत्यु प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । आत्महत्याको नाम दिईएको उक्त घटना दाइजो कम ल्याएको भनी उनका परिवारद्वारा गरिएको सुनियोजित हत्या हो भन्ने हामीलाई लागेको छ । तसर्थ हाल प्रहरीले गरेको अनुसन्धान एवं अगाडी बढाएका प्रक्रियाले यो घटनामा शक्ति र पैसाको चलखेल गरी अपराधलाई लुकाउन खोजिएको छ भन्ने हामीलाई लागेको छ । त्यसैले सो घटनाको उचित र निष्पक्ष छानविन होस् भन्ने अनुरोधका साथ हामी मन्त्रीज्यू समक्ष आएका छौं । 

देशको संक्रमणकालिन अवस्थाका कारण अपराधिक घटनाहरु पनि दिनानुदिन बढी रहेका छन् । राजनीतिक अपराधिकरण, भ्रष्टचार, तथा अपराधिकरणको राजनीतिका कारण, नागरिकको न्यायमा पहुँचको स्थीति नाजुक बन्न पुगेको छ । मानवअधिकारको हनन् हुने कार्य बढ्दो छ । न्याय पाउने कार्य घट्दो छ । यो स्थितिले महिलाहरु बढी प्रभावित भै रहेका छन् । देशको यस्तो दण्डहीनताको स्थिती र समाजमा स्थापित विभेदपूर्ण सामाजिक, साँस्कृतिक मूल्य मान्यताहरुका बीचमा महिलाहरु दोहोरो मारमा परि विभिन्न खालका हिंसा खप्नुका साथै ज्यानसम्म गुमाउन बाध्य भैरहेका छन् । पछिल्लो समयमा दाइजो प्रथाका कारण तराईमुलका महिलामाथि भएको हिंसा र हत्याले हामीलाई अत्यन्तै चिन्तित तुल्याएको छ । यो महिलाहरुको मानव अधिकार हननको निकृष्ठ रुप हो भन्ने हामी महिला अधिकारकर्मीहरुको ठम्याइ छ । 

विशेषतः तराईमा दाइजोको कारण महिलामाथि हुने हिंसाले जरो गाडेको स्थिती छ । छोरी ठूली भई धेरै दाइजो चाहिन्छ भन्ने डरले सानै उमेरमा विवाह गरेर छोरी अर्काका घरमा पठाउन पाए ढुक्क हुने प्रवृत्ति बढेकोले पनि बालविवाह उन्मूलन हुन सकेको छैन । यस्ता धेरै घटनाहरु बाहिर ल्याइदैनन् । यीनीहरुलाई समाजको साँस्कृतिक परम्पराको आडमा छोप्ने चलन छ । समुदायमा महिलाहरुका लागि सहयोगी संयन्त्र नहुँदा महिलाहरु यस्ता घटनाहरु आफू भित्रै दवाएर राख्न बाध्य छन् । 

सहयोगी संयन्त्र प्राप्त हुँदा र यति भई सकेको स्थितिमा केहि घटनाहरुमात्रै बाहिर आउछन् । ओरेक नेपालमा  २०६७÷०६८ सालमा दाइजोको कारण महिलाहरुमाथि हिंसाका केसहरु २५ वटा र पत्रपत्रिकामा प्रकाशित केसहरु १२ वटा  अभिलेखिकरण गरिएका छन् । यी घटनाहरुको बाहिर समाजमा देखिने सानो रुप हुन्छ तर यसको जड ठूलो हुन्छ । 

अठार महिनायता रौतहटमा मात्र १२ जना महिलाको दाइजोको कारण हत्या भएको कुरा पत्रपत्रिकाहरु मार्फत व्यापक रुपमा आएको छ ।  श्रावण १ गते भएको किरण शाहको शंकास्पद मृत्यु, यस्तै एउटा घटना हो । किरण शाहलाई उनका आमा बुवाले दुई तीन लाख खर्च गरी विवाह गरेता पनि घर परिवारले ५० हजार थप दाइजो नपुगको कारण नै हत्या भएको  भन्ने स्थानीय वासिन्दाहरुको भनाई छ । ओरेक नेपाल महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजाल, संकल्प नेपाल, स्थानिय महिला अधिकारकर्मीहरुद्वारा मिति २०६८ श्रावण ८ र  ९ मा गरिएको उक्त घटनाको स्थलगत अनुगमनबाट आएको प्रतिवेदन अनुसार किरणलाई विवाह भएको केहि दिन देखि नै  परिवारले शारीरिक तथा मानसिक यातना  र थप दाइजो माग गर्दै आएका थिए । लासको प्रकृति, घटना घट्नु अगाडी सम्धिनीहरु बिचमा झगडा पर्नु, किरणलाई किरणकी सासुले मार्ने धम्की दिनु आदिले हत्या नै भएको हो कि भनी भन्ने आधार मिल्दछ । अहिले यो घटनालाई आत्महत्याको खोल ओढाएर ढाक छोप गर्न खोजेको देखिन्छ । पैसा र शक्तिको आडमा यस घटनालाई आत्महत्या प्रमाणित गर्ने चलखेल गरिदैछ ।  

रात दिनको मानसिक र शारीरिक यातना (छिमेकी र समुदायका सदस्यहरुको सुचनाको आधारमा) का कारण यदी किरणले आत्महत्या नै गरेको हो भने पनि त्यो हत्या नै मानिनु पर्छ  भन्ने हाम्रो मान्यता छ । यसमा पनि यो घटनाको तथ्यगत सुचनाहरुले यो घटना हत्या नै हुनसक्ने आधारहरु धेरै छन् । यो सन्दर्भमा उक्त घटनाको विशेष अनुसन्धान गरी पीडकलाई सजाय हुनु पर्छ भन्ने हामी माग गर्दछौं । साथै यस्ता आत्महत्याहरु हत्याकै रुपमा हेरीने खालको कानुन बनाउन सरकार पक्षलाई सुझाव समेत दिन हामी आवश्यक ठान्दछौं । 

यसका साथै सामाजिक मूल्य र मान्यताका कारण, किरण जस्ता अन्य नेपालका दिदीबहिनीहरुले अकालमा ज्यान गुमाउन नपरोस् भन्नकालागि ओरेक नेपाल, राष्ट्रिय महिला मानव अधिकार रक्षक संजाल र सम्पूर्ण महिला अधिकारकर्मीहरु राष्ट्रिय मानव अधिकार आयोग लगायत राज्यका सम्पूर्ण अंगहरुलाई निम्नानुसारको माग गर्दै दाइजो प्रथा उन्मूलनका लागि समेत  ध्यानाकर्षण गर्न चाहन्छौं । 

हाम्रा मागहरु: 

१) २०६८ श्रावण १ गते दाइजो कम भएका कारण सासु, आमाजु र श्रीमान्द्वारा हत्या गरिएकी हन सक्ने डेढ महिने नव दुलही किरण शाहको हत्याको सत्य तथ्य पत्ता लगाई दोषीमाथि कडा भन्दा कडा सजाय गराइनु पर्ने । 

२) उक्त घटनाको स्थलगत अनुगमनका क्रममा भेटिएका स्थानीय बासिन्दा, महिला अधिकारकर्मी, मृतकको आमा, दाजु र अन्य समुदायका व्यक्तिहरुको भनाई अनुसार हत्या भएको तर आत्महत्या भनी मुद्दालाई फितलो बनाउन प्रयास गरिएकोमा हामी घोर भत्र्सना गर्दै राज्य पक्षलाई अपराधलाई ढाकछोप नगरी न्याय दिलाउन अनुरोध गदैछौं । 

३) दाइजो जस्तो सामाजिक कुरीतिलाई उन्मूलन गर्न नेपालमा सामाजिक व्यवहार(सुधार) ऐन २०३३ भन्दा अरु कुनै संसोधित तथा अन्य कानुन नभएकाले दाइजो उन्मूलन गर्ने कानुन बनाउन सरकार समक्ष जोडदार माग गर्दछौं । 

४) तराइमुलमा दाइजोको कारण महिलाहरुको हत्या गरी आत्महत्या भएको प्रमाणित गर्ने प्रचलन बढी रहेको अवस्थामा यसको विरुद्ध आवाज उठाउने पीडित पक्ष, स्थानीय बासिन्दा, मानव अधिकारकर्मी, महिला मानव अधिकार रक्षकहरु समेत जोखिममा रहेकाले  उनीहरुको सुरक्षाको ग्यारेण्टी गरिनु पर्ने ।

५) महिला हिंसा न्युनिकरणका लागि राज्यले विभिन्न समयमा गरेको प्रतिवद्धताको कार्यान्वयन गर्न कदम चालिनु पर्ने ।  

 

बाबुराम गौतम डा. रेणु राजभण्डारी
निर्देशक अध्यक्ष-राष्ट्रिय   महिला मानव अधिकार रक्षक संजाल
ओरेक नेपाल संस्थापक अध्यक्ष ओरेक नेपाल

 

 

Filed under: