Home :: Press Release :: Contact :: Login
महिला माथि हुने हिंसा र महिला स्वाथ्यको अन्तरसम्बन्ध
ओरेक नेपाल, केड र महिला स्वास्थ्य अधिकार पैरवी संजाल नेटवर्कको संयूक्त आयोजनामा
अन्तर्कि्रया कार्यक्रम
जेठ १२ २०६७
“पहुँच तथा प्रतिष्ठाको लागि सहस्राब्दी विकास लक्ष्य ५ ख को प्राप्ती”
स्वास्थ्य भन्नाले कुनै पनि रोग वा अपाङ्गता भएको अवस्था मात्रै नभई शारिरीक मानसिक र सामाजिक रुपले पूर्ण स्वथ्य रहेको अवस्था हो। यो स्वास्थ्य सेवा, स्याहार र सुविधामा मात्रै सिमित हुदैन, यसभित्र विभीन्न तत्वहरुले प्रभाव पारेका हुन्छन्। जस्तै : सामाजिक, लैङिक विभेद, आर्थिक स्रोतहरुको बाँडफाँड, पौष्टिक खाना, सफा खानेपानीको व्यवस्था, जस्ता विभिन्न स्वास्थ्यका निर्णायक तत्वहरु समेत यसमा समाहित भएका हुन्छन्। समग्र महिलाहरु, अझ सिमान्तकृत समुदायका महिलाहरु विभेदपूर्ण सामाजिक संरचनामा बाच्न बाध्य भएका छन्। सामन्तवादी संरचनाका साथै देशमा स्थापित पितृसत्तात्मक संरचनाले महिलाहरु आफ्ना अधिकारबाट वञ्चित बनाइएका छन्, सिमान्तकृत गरिएका छन्। उनीहरुलाई सीमान्तकृत गर्नका लागि उनीहरुमाथि विभिन्न प्रकारका हिंसा गरिन्छ। यो हिंसाको प्रतिकुल असर उनीहरुको स्वास्थ्यमा र पूर्णत उनीहरुको जिवनमा पर्दछ।
सबै मानव अधिकार महिला अधिकार हुन्। स्वस्थ रहन पाउने तथा स्वास्थ्य सेवाको अधिकार सबै किसिमको मानव अधिकारमा पहँुच नहुँदासम्म सुनिश्चित हुन सक्दैन। मानब अधिकार एक अर्कासंग अन्तरसम्बन्धित र अविभाज्य हुन्छ त्यसैले एउटी महिला स्वस्थ रहन उनका सबै अधिकारहरु सुनिश्चित हुनु जरुरी हुन्छ , अनिमात्र उनको स्वास्थ्य अधिकार सुनिश्चित हुनसक्दछ। स्वास्थ्य अधिकार अरु सबै अधिकारसंग अन्तरसंविन्धत हुन्छ भन्ने तथ्यलाई आत्मासाथ गर्दै निर्दीष्टरुपले स्वास्थ्य अधिकार भित्रः प्रजनन् स्वास्थ्य र प्रजनन अधिकार, यौन अधिकार, विना कुनै हिंसा र विभेद बाँच्न पाउने अधिकार र हिंसामुक्त सुरक्षित वातावरणमा बाँच्न पाउने अधिकारले स्वस्थ रहनसक्ने अधिकार प्राप्त गर्ने वातावरणमा प्रत्यक्ष प्रभाव पार्दछ। स्वास्थ्य सेवाको पहुँचमा असर पर्दछ। समग्रमा स्वास्थ्य सेवा र अधिकारलाई प्रभावित गर्दछन्। प्रजनन् स्वास्थ्यलाई केवल स्वास्थ्य सेवामाथिको पहुँच र गुणस्तरमा सिमित नराखी, सामाजिक र साँस्कृतिक तत्वहरु र समाजमा महिलालाई दिईएको स्थान जसले महिलाको जिवनमा ठूलो भूमिका खेलेको हुन्छ त्यसलाई पनि समेटेनु पर्दछ।
हिसांबाट कुनै देश वा कुनै समुदाय अछुतो रहन सकेको छैन् । हिंसाले सम्पूर्ण सामाजिक, सांस्कृतिक, भौगोलिक, धार्मिक र आर्थिक सिमालाई नाघेर विश्वव्यापी रुप लिएको तथ्यलाई नकार्न सकिन्न। महिला भएकै कारणले गर्दा विश्वभर लाखौ संख्यामा महिला तथा बालिकाहरु विभिन्न प्रकारका हिसांको चपेटामा परेका छन् जस्तै : हत्या, बलात्कार, कुटपिट, मानसिक यातना आदि। यसको सिधा असर उनीहरुको स्वास्थ्यमा पर्छ। अस्वस्थ भएपछि फेरि पनि उनीहरुमाथि थप हिंसा हुन्छ। यो कुरालाई नियालेर हेर्दा के देखिन्छ भने महिलाहरु सधै हिसांको चक्रव्यूहमा फसिरहेका हुन्छन्। उदारणकालागि सानो उमेरमा बिहे हुनु, छोरा पाउने आसमा धेरै पटक गर्भपतन गर्नु वा धेरै सन्तान जन्माउन बाध्य हुनु, र असुरक्षित यौन सम्पर्कका कारण महिलाहरुमा अनेक किसिमका स्वास्थ्य समस्या जस्तै पाठेघर खस्ने, एच आइ भी संक्रमण हुनु र अन्य यौन रोग, कुपोषण, रक्तअल्पता जस्ता समस्याहरु देखापर्छन्। स्वास्थ्य सेवामा पहँुच नहँुदा महिलाहरु यी समस्याबाट झन बढी पीडित छन्। यो स्थितीले महिलाको स्वास्थ्यको एक प्रमुख निर्णायक तत्व महिला माथि गरिने हिंसा हो भन्ने स्पष्ट बनाउँछ।
त्यसैगरि महिलाहरुको मृत्यु हुने प्रमुख कारण महिलामाथि हुने हिंसा रहेको छ। यसले महिलाका साथै बालबालिकालाई पनि असर परिरहेको छ। तर यो विषयमा ध्यान दिइएको छैन्। शरीरिक, मानसिक, र यौनिक हिंसाको चपेटामा परेका कतिपय महिलाहरु चुप लागेर आफूमाथि भएको अन्याय सहन बाध्य छन्।
महिला र पूरुषबिचको असन्तुलित शक्ति सम्बन्धले गर्दा सबै उमेरका महिलाहरु हिंसाबाट पीडित छन्। महिलामाथि हुने हिंसाले उनीहरुको स्वास्थ्यमा परेको असर गम्भिर छ। महिला स्वस्थ्ा रहन सक्ने अधिकार सुनिश्चित गर्न र स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न महिला माथि हुने विभेद र त्यसमा परिणामहरु मूलत लैङ्किक विभेदमा आधारित हिंसालाई संवोधन गर्नुपर्दछ।
हालै सरकारले लैङ्गिक हिंसा नियन्त्रण र हिंसाबाट महिला तथा बालिकाहरुलाई सुरक्षा एवं संरक्षण प्रदान गर्न राष्ट्रियस्तरको कार्ययोजना तर्जुमा गरेको छ र सन् २०१० लाई 'लैङ्गिक हिंसाविरुद्धको वर्ष' भनी घोषणा गरेको छ। यो निश्चय पनि सकारात्मक कदम हो। तर उक्त अभियान संचालन गरेको ६ महिना वितिसक्दा पनि अपेक्षाकृत उपलब्धि भने भएको छैन। हिंसा प्रभावित महिलाहरु अझै पनि आफ्नो स्वाभिमान र अस्तित्वका साथ बाँच्ने र उनीहरुलेे न्याय पाउने कुरा समेत टाढाको विषय भएको छ।
सन १९८७ देखि ल्याटिन अमेरिका र क्यारेबियन मुलुकका महिलाहरुको स्वास्थ्य सञ्जालले मे २८ तारिकलाई महिला स्वास्थ्य अधिकारकालागि अर्न्तराष्ट्रिय दिवश मनाउन शुरु गरेकोले महिला स्वास्थ्यमा काम गर्दै आएका बिश्वभरीका संञ्जालहरुले यसलाई बिशेष रुपमा मनाउदै आएका छन्। नेपालमा पनि यो दिवशमा महिला स्वास्थ्य अधिकारमा काम गर्नुका साथै राज्यलाई आफ्नो जिम्मेवारी पुरा गर्न सघाउ पुर्याउने उद्देश्यले विभिन्न पैरवी कार्यक्रमहरु संचालन गर्ने गरिएको छ।
यही मे २८, जेठ १४ यसपाली एउटा अन्यौलपुर्ण अबस्थामा छ। महिलाको स्वास्थ्य अधिकार देशमा शान्ति, लोकतन्त्र र शक्ति विकेन्द्रीकरण विना सम्भव छैन। उक्त स्थिति देशमा नयाँ अग्रगमन संस्थागत गर्ने संविधान विना सम्भव छैन। देशमा स्थापित दन्डहिनताले मानवअधिकारको स्थिति कहाली लाग्दो भएको छ। यसको प्रत्यक्ष मार महिलाहरूले बेहोर्न बाध्य छन्। पछिल्लो तीन महिनाको तथ्यांक हेर्दा मात्रै महिलामाथि भएको हिंसाको तथ्याङ्क ४ सय ६२ छ। यसभन्दा अगाडिको स्थिति पनि यस्तै छ। यो स्थितिमा सरकारद्वारा सहस्राव्दी लक्ष्यले सन् २०१५ सम्ममा प्रजनन स्वास्थ्य सेवामाथि सर्वव्यापी पहुँच बढाउन लिएको लक्ष्य पूरा गर्न चलाइने कार्यहरू तथा अन्तरिम संविधानले दिएको नागरिकको स्वास्थ्य अधिकारको हक सुनिश्चित हुन सक्ने वातावरण कदापि बन्न सक्दैन।
सरकारले सहस्राब्दी बिकास लक्ष्यले सन् २०१५ सम्ममा पुरा गर्ने लक्ष्य राखेको छ। सहस्राब्दी विकास लक्ष्यहरू, संयुक्त राष्ट्रसङ्घको आयोजनामा १८९ राष्ट्र तथा सरकार प्रमुखहरूबाट सन् २००० को सेप्टेम्बरमा शान्तिपूर्ण, समुन्नत तथा न्यायपूर्ण विश्वका लागि गरिएको प्रतिबद्धताको समूहिक स्वरूप हो। यी लक्ष्यहरू बहुपक्षिय र बहुआयामिक छन्। यसमा गन्तव्यहरू तोकिएका छन्, जसलाई सदस्य राष्ट्रहरूबाट सन् २०१५ सम्म हासिल गर्ने लक्ष्य लिइएको छ। सहस्राब्दी विकासका लक्ष्य आठ वटा छन् भने १८ गन्तव्य र ४८ सूचकहरू छन्। यस मध्ये ल73य ५ मा मातृ स्वास्थ्य सुधार रहेको छ। यस अर्न्तगत ५ क मा २०१५ सम्ममा मातृमृत्यु दर एक तिहाईमा झार्नुपर्ने र ५ख मा प्रजनन् स्वास्थ्यमा सर्बब्यापी पहुँच पुर्याउनु पर्ने उल्लेख छ। अन्तर्राष्ट्रिय स्तरमा जनाइएको यो प्रतिबद्धताले राज्यलाई अझबढि जिम्मेवार बन्न आग्रह गरेको छ।
महिला स्वास्थ्य अधिकारलाई पूर्णरुपले सुनिश्चित गर्न महिलालाई हेर्ने दृष्टिकोण, अवधाराणा र व्यवहारमा र यो परिवर्तनका लागि संरचनागत परिवर्तन आवश्यक छ। संरचनागत परिवर्तनका लागि देशको उपयूक्त राजनीतिक अवस्थाले महत्वपूर्ण भूमिका खेल्छ। देशकोे लोकतान्त्रिक गणतन्त्र सुनिश्चित भएको स्थितिमा मात्र महिलालाई विभेद गर्ने, महिलामाथि हुने हिंसालाई संवोधन गर्ने आधार तयार हुन्छ। त्यस स्थितिमा मात्र सरकारद्वारा प्रतिवद्धता जनाए अनुरुप सहश्राब्दी बिकास लक्ष्यको ५ ख प्राप्त गर्न सकिन्छ र प्राप्त उपलब्धिलाई दिगो बनाउन सकिन्छ। यहि यर्थाथलाई मनन गरि यसबर्ष सन् २०१० को महिला स्वास्थ्य अधिकार दिवशलाई महिला स्वास्थ्य अधिकार सुनिश्चित गर्न महिला माथि हुने हिंसा र महिला स्वास्थ्यको अन्तरसम्बन्धलाई विश्लेषण गरी महिला स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्न बिभिन्न सरोकारवालाहरुको जिम्मेवारी खुट्टयाउन महिला पुर्नस्थापना केन्द्र, केड नेपाल र महिला स्वास्थ्य अधिकार पैरवी सञ्जालद्वारा संयूक्त रुपमा यो अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरिएको हो।
उद्देश्य
महिलामाथि हुने हिंसा र महिला स्वास्थ्यबीचको अन्तरसम्बन्धको विश्लेषण गरी महिला स्वास्थ्य समस्याको मूल कारणको पहिचान गरी पैरवीका लागि रणनैतिक कार्ययोजनाको निर्माण गर्ने।
विधि
सहभागिहरु
सरकारी निकायका प्रतिनिधिहरु, महिला स्वास्थ्य र महिला माथि हुने हिंसा अन्त्य गर्न कार्यरत गैरसरकारी तथा अर्न्तराष्ट्रिय संघ संस्थाका प्रतिनिधि, पत्रकार,नर्सिङ एसोशिएसनका प्रतिनिधिहरु
अपेक्षित उपलव्धिहरु
समयः बिहान ९ : ०० बजे
स्थानः वर्ल्ड टे्रड सेन्टर
मितिः जेठ १२ गते २०६७