WOREC Nepal

सामाजिक न्याय र समानतामा आधारित लोकतान्त्रिक नेपाल सम्भव छ

Printer-friendly versionSend to friend
Basic Information
Start Date: 
मङ्गल, 2011-03-15 10:00
End Date: 
बुध, 2011-03-16 (All day)
Contact Person: 
ics@worecnepal.org

सामाजिक न्याय र समानतामा आधारित लोकतान्त्रिक नेपाल सम्भव छ — हामी बनाउँछौं ।
दोस्रो राष्ट्रिय महिला सामाजिक मञ्च नेपाल २०११

सामाजिक मञ्च पछाडि पारिएका, शोषण र दमनका कारण आर्थिक, सामाजिक र राजनैतिक रूपमा सीमान्तकृत तथा समुदायका दमित आवाजलाई बुलन्द गरी शक्ति, सत्ता र स्रोतलाई नियन्त्रणमा राख्ने शक्तिलाई सचेत र सजग गराउँदै सकारात्मक दबाव सिर्जना गर्ने नागरिकहरूको साझा थलो हो ।
“अर्को संसार सम्भव छ” भन्ने विश्व सामाजिक मञ्चको मूल नाराको मान्यतालाई आत्मसात गर्दै नेपालमा “सामाजिक न्याय र समानतामा आधारित लोकतान्त्रिक नेपाल सम्भव छ — हामी बनाउँछौं” भन्ने मूल नाराका साथ हामी नेपाली महिलाहरूले यही २०६७ चैत्र १ र २ गते (मार्च १५ र १६) दोस्रो राष्ट्रिय महिला सामाजिक मंचको आयोजना काठमाण्डौंमा गर्न गइरहेका छौं ।
सामाजिक मञ्च किन ?
आज विश्वमा ठूला ठूला राजनीतिक परिवर्तनहरू भइराखेका छन् । विश्वको राजनीतिलाई हेर्दा अहिले लोकतन्त्रको चाहना राख्ने र लोकतन्त्रलाई दवाउन चाहनेहरूको बिचमा द्वन्द्व चर्कदो छ । यस्तो स्थितिमा आपसी कलहमा अल्झिएका राजनीतिक दलहरूको भूमिकामा धेरै प्रश्नहरू उठिराखेका छन् । यसको साथसाथै विश्वको मूलधारमा रहेको अर्थ ब्यवस्था आज संकटमा छ । यसले थप अन्योलका साथै सामाजिक न्यायमा काम गर्नेहरूका लागि चुनौति र अवसर दुबैको सिर्जना गरेको छ । अर्कोतिर यो अन्योलताले देशलाई अस्थिर राखि राख्न चाहने प्रतिगामी तत्वहरूका लागि खुकुलो वातावरण तयार बनाइरहेको छ । यस स्थितीमा देशको आमूल परिवर्तनको अगुवाई गरेर आन्दोलन गर्ने राजनीतिक पार्टि, सामाजिक आन्दोलन तथा लोकतन्त्र र सामाजिक न्यायमा विश्वास राख्नेहरू सतर्क हुनु जरुरी छ ।
सामाजिक मञ्चमा विशेष गरी नीतिगत सवाल र राजनैतिक अवस्थाले आम नागरिकमा पारेको प्रभावका बारेमा देशका विभिन्न गाउँ टोलमा बसोवास गर्ने महिला र फरक आवश्यकता भएका समूहहरूको अनुभव आदान प्रदान गरिने छ । सामाजिक, आर्थिक तथा राजनैतिक क्षेत्रमा राज्यका नीति र ब्यबहारहरूका कारण पर्न गएको असर र महिलाका मुद्दाहरूमा व्यापक छलफल गरी उपयुक्त रणनीतिक निकास निकाल्ने प्रयास गरिनेछ ।

उद्देश्यहरू :
सदियौदेखि पछाडि पारिएका, शोषण र दमनका कारण आर्थिक, सामाजिक र राजनैतिक रूपमा सीमान्तकृत तथा अल्पसंख्यक समुदायको अधिकार प्राप्तिको अभियानमा जनमत तयार गर्ने ।
समयमा संविधान निर्माण गर्नका लागि दबाव सिर्जना गर्ने ।
महिला अधिकार आन्दोलनको समीक्षा गर्दै महिला आन्दोलनलाई अगाडी बढाउन महिलाका साझा सवालमा ऐक्यवद्धता निर्माण गर्र्ने ।
नव उदारवादी आर्थिक नीतिको असफलता, बढ्दो राजनीतिक अस्थिरता तथा लोकतान्त्रीकरणले महिला आन्दोलनमा पारेको र पार्न सक्ने असरका बारेमा छलफल गर्ने ।

बिगतका प्रयासहरू :
प्रथम राष्ट्रिय महिला सामाजिक मञ्च २०६१, काठमाण्डौं
२००९ मार्चमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा काठमाडौंमा करिब ३ दर्जन भन्दा बढी संघ संस्थाको संयुक्त प्रयासमा प्रथम महिला सामाजिक मञ्चको आयोजना गरिएको थियो । कार्यक्रममा देशभरका विभिन्न महिला अधिकारको आन्दोलनमा सक्रिय ३ हजार भन्दा बढी महिलाहरूको सहभागिता रहेको थियो । मञ्चमा विषयगत समानान्तर कार्यशाला, सूचनामूलक स्टल, महिला आन्दोलनको फोटो प्रदर्शनी र वृत्तचित्र प्रदर्शनी गरिएको थियो । कार्यशालाबाट आएको निष्कर्शको आधारमा घोषणापत्र तयार गरी घोषणासभा गर्नुका साथै संविधान निर्माणका लागि गठित १० वटै विषयगत समितिहरूलाई सुझाव हस्तान्तरण गरिएको थियो । महिला मैत्री संविधान निर्माणका लागि प्रमुख राजनैतिक दलहरूलाई ज्ञापन पत्र बुझाउनुका साथै राष्ट्रपतिलाई हस्ताक्षर हस्तान्तरण पनि गरिएको थियो ।
यसै गरी सन् २००९ मा नै महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत पहिलो पटक पाँचै विकास क्षेत्रमा विकास क्षेत्रीय महिला सामाजिक मञ्च सम्पन्न भएको थियो । जसमा विभिन्न क्षेत्रका हजारौं महिलाहरूको सहभागिता रहेको थियो ।
राष्ट्रिय महिला सामाजिक मञ्चको निरन्तरता २०६७ (मार्च १५ र १६,२०११)
महिला सामाजिक मञ्चलाई निरन्तरता दिंदै दुई दर्जन भन्दा बढी संघ संस्थाको संयुक्त प्रयासमा यस वर्ष दोस्रो राष्ट्रिय महिला सामाजिक मञ्चको आयोजना काठमाण्डौंमा गरिदै छ । विगतको सामाजिक मञ्च जस्तै आयोजना गर्न लागिएको यो महिला सामाजिक मञ्च राजनैतिक र सामाजिक दृष्टिकोणले महत्वपूर्ण रहनेछ । विभिन्न विषयमा कार्यशाला, सूचनामूलक स्टल, फोटो प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, ¥याली, घोषणासभा लगायत विभिन्न कार्यक्रमहरू रहनेछन् ।

कार्यक्रमहरू
विभिन्न विषयगत मुद्दाहरूमा कार्यशाला गोष्ठी
फोटो प्रदर्शनी
वृत्तचित्र प्रर्दशनी
सूचना केन्द्रित स्टलहरू
सांस्कृतिक कार्यक्रम
¥याली
घोषणासभा
राजनैतिक पार्टिका प्रमुखहरू र सभामुखलाई हस्ताक्षर हस्तान्तरण

स्थान : पद्यम कन्या क्याम्पस, बागबजार काठमाण्डौं
मिति : मार्च १५ र १६, २०११ ( चैत्र १ र २, २०६७)

समयमा संविधान निर्माण गर्ने आधार तयार गरौं

आयोजक : राष्ट्रिय महिला सामाजिक मंच आयोजक समिति
रा.म.सा.म. सचिवालय
ओरेक, बालकुमारी, ललितलपुर,
फोन : ५००६३७३, २१२३१२४
Web : www.worecnepal.org

Filed under: