Home :: Press Release :: Contact :: Login
मिति २०६७ जेठ १०
पृष्ठभुमी
घरेलुहिंसा सम्बन्धी ऐन आएको १ बर्ष पुरा भएको छ। घरेलु हिसां नियन्त्रण गर्ने सम्बन्धमा बनेको ऐन २०६६ गत बर्ष बैशाखमा जारी गरिएको थियो। यद्यपी यो ऐन, घरेलु हिंसा अन्त्य गर्न पर्याप्त नभएको भन्दै बिभिन्न क्षेत्रबाट आवाज उठेपनि १ बर्षसम्म नियमावली नआउदा ऐन कार्यान्वयनमा ढिलाई भएको छ।
घरेलु हिंसा ऐनको नियमावलीको मस्यौदा भर्खरै कानुन मन्त्रालयमा गएको बताईएको छ। कानुन मन्त्रालयको स्वीकृतिपछि यो बल्ल महिला तथा बालबालिका मन्त्रालयमा जानेछ र यसले मन्त्रीपरिषदको बैठकमा प्रस्तुत गरी स्वीकृती पाएपछि मात्र आउनेछ। यसले गर्दा अझै कति समय लाग्ने हो यो नियमावली आउन निश्चित छैन। यसले गर्दा घरेलु हिंसाबाट पिडीतहरुले कानुनी उपचार पाउन कठिनाई भईरहेको छ। घरेलु हिंसाबाट पिडीत महिलाले एक त आफु पिडित भएको कुरा बाहिर ल्याउने बाताबरण हुदैन भइहालेको खन्डमा पीडकलाई हुने सामान्य जरिवाना र छोटो सजायले महिलाहरु त्यसपछि झन पिडीत बनिरहेको अबस्था छ। महिलामाथि हिंसा गर्ने पीडकहरु बिभीन्न राजनीतिक दलहरुको संरक्षणमा खुलेआम घुमिरहेका छन् भने प्रहरी प्रशासन उजुरी दर्ता गर्न मान्दैन। यस बिषयमा आवाज उठाउदा महिला मानब अधिकार रक्षकहरु सबै तारो भईरहेको अबस्था छ ।
यो एक बर्षमा हामीलाई प्राप्त तथ्याङ्कमा महिलाहरु जहा सुरक्षित हुनपर्ने हो आफ्नो घर भित्र, त्यहीबाट सबै भन्दा बढी असुरक्षित भएको, कुटिएको, पिटिएको, घर निकाला भएको, जलाईएको र हत्या गरिएका धेरै घटना प्राप्त भएका छन्। यही महिनामा पनि २ जना महिला आफ्नै श्रीमानबाट जलाईएका छन्।
“घरेलु हिंसा नियन्त्रण गर्ने सम्बन्धमा बनेको ऐन” नाम दिइए पनि यसभित्रका प्रावधानले हिंसा भइसकेपछि उजुरी दिने क्षेत्रलाई मात्र समेटेको छ। यो ऐनको क्षेत्राधिकारले न घरेलु हिंसा नियन्त्रण गर्न सक्छ, नत महिलामाथि हुने हिंसा नियन्त्रण गर्ने राज्यको जिम्मेवारी पुरा हुन्छ।
बिषयबस्तु
चैत महिनाको तुलनामा महिलामाथि भएका हिंसाका घटना बैशाखमा केही कमी भएको छ । गत महिना महिला माथि २१७ वटा हिंसाका घटना भएका थिए भने बैशाख महिनामा देशभरीबाट १ सय २४ वटा महिलामाथि भएका हिंसाका घटनाको तथ्याङ्क ओरेक नेपाललाई प्राप्त भएका छन। यो महिना पनि पुर्बाञ्चलमा महिलामाथि सबै भन्दा बढी हिंसाका घटना भएका छन्। पुर्बाञ्चलको बिराटनगरबाट ३९ वटा महिलामाथि भएका घटना हामीलाई प्राप्त भएका छन्। पुर्बी तराईमा सिराहामा २७ , मध्यपश्चिमको दाङ्ग मा १६ उदयपुरमा ७ र सुदुरपश्चिमको कैलालीबाट १२ वटा महिलामाथि भएका हिंसाका घटना हामीलाई प्राप्त भएका छन्।
घरेलु हिंसा
बैशाख महिनामा घरेलु हिंसाका १९ वटा घटना हामीलाई प्राप्त भएका छन्। चैत महिनामा ३२ जना महिलाले आफ्नै परिवारबाट यातना पाएका थिए। यो महिना महिलामाथि हुने घरेलुहिंसाका घटना केही कम देखिएको छ। तरपनि महिला माथि हुने जघन्य अपराधका घटनामा यो महिना कमी आएन। बुटवल र सुर्खेतमा आफ्नै श्रीमतीलाई श्रीमानले हत्या गर्ने नियतले मट्टीतेल खन्याएर आगो लगाए। घरको काम नगरेको सामान्य निहँुमा रुपन्देही जिल्लाको बुटवलमा बैशाख १४ गते आफ्नै श्रीमान टिकाराम बुढाथोकीले श्रीमती कमला परियारलाई मट्टितेल खनाई आगो लगाएर गम्भिर घाइते बनाएका छन् भने अर्की श्रीमती विबाह गर्न नदिएको झोकमा सुर्खेत जिल्ला बिरेन्द्रनगर नगरपालिका बसपार्कमा होटेल गरि बस्ने धन बहादर रानाले यहि बैशाख १६ गते श्रीमती खगीसरा रानालाई मट्टीतेल खन्याई आगो लगाएर हत्या गर्ने प्रयास गरेका छन्। यसैगरी छोरा कालीकोटमा छोरी पाएको भन्दै एक महिला दुइृजना छोरी सहित घरबाट निकालिएकी छन्।
हत्या
बैशाख महिनामा ८ जना महिलाको हत्या भएको छ। रौतहटमा मागेजति दाईजो नल्याएको निहुमा बुहारी सुकान्ती देबीलाई जेठाजु लगायत परिवारका सदस्यले हत्या गरेका छन्। नुवाकोटमा एक महिलाले जेठानीलाई बन्चरो प्रहार गरी हत्या गरेकी छन्।
यसैगरी बैशाख महिनामा १७ जना महिलामाथि बलात्कार भएको छ। रुकुमको दुर्गम गाबिस काँडामा एक महिला आफ्ने घरमा सामुहिक रुपमा बलात्कृत भएकी छिन्। यो महिना ५१ जना महिलामाथि कुटपीट भएको छ , ३ जना महिला बेचबिखनमा परेका छन्।
बैशाख महिनामा महिला माथि भएका हिंसाका घटनाको प्रकार र संख्या यसप्रकार रहेको छ।
क्र.सं. हिंसाको प्रकार संख्या
१ घरेलु हिंसा १९
२ कुटपिट ५१
३ बलात्कार १७
४ हत्या ८
५ सामाजिक हिंसा ८
६ बेचविखन ३
७ मानसिक यातना १४
८ बोक्सीको आरोप ४
जम्मा १२४
स्रोतः ओरेक नेपाल
बिभिन्न पत्रपत्रिका
दुर्गा कार्की
संचार संयोजक
ओरेक नेपाल