Home :: Press Release :: Contact :: Login
यहि जेठ १४ गते महिला स्वास्थ्य अधिकार दिवसको अवशर पारेर ओरेक नेपाल र प्रजनन् स्वास्थ्य अधिकार कार्यक्रम केड नेपालको संयुक्त आयोजनामा काठमाडौँमा एक अर्न्तक्रिया कार्यक्रमको आयोजना गरियो। महिलामाथि हुने हिंसा र महिला स्वास्थ्यको अन्तरसम्बन्धलाई केलाउन 'पहुँच तथा प्रतिष्ठाको लागि सहस्राब्दी विकास लक्ष्य ५ख को प्राप्ती' बिषयक अर्न्तक्रिया कार्यक्रमको आयोजना गरिएको हो। सहस्राब्दी बिकास लक्ष्य मध्ये लक्ष्य ५ मा मातृ स्वास्थ्य सुधार रहेको छ। यस अर्न्तगत ५ क मा २०१५ सम्ममा मातृमृत्यु दर एक तिहाईमा झार्नुपर्ने र ५ ख मा प्रजनन् स्वास्थ्यमा सर्बब्यापी पहुँच पुर्याउनु पर्ने उल्लेख छ। यस बर्ष महिला स्वास्थ्य अधिकार दिवशको नारा पनि 'पहुँच तथा प्रतिष्ठाको लागि सहस्राब्दी विकास लक्ष्य ५ख को प्राप्ती' नै रहेको छ।
अर्न्तक्रिया कार्यक्रममा बोल्नेहरुले महिलामाथि हुने हिंसाले महिला स्वास्थ्यमा गभ्मीर असर पुगेको बताएका थिए।
कार्यक्रममा अछाम, दाङ्ग, उदयपुर, सिरहा लगायतका जिल्लाबाट आएका महिला स्वास्थ्य पैरवी संजालका सदस्यहरुले समुदायमा महिलामाथि भएका, हुने हिंसा र यसका कारण स्वास्थ्यमा परेको प्रभावको अनुभव सुनाएका थिए।
कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रवीण मिश्रले अशिक्षा, लैगिंक बिभेद र गरिबी महिला स्वास्थ्यसंग जोडिएकाले यसको निर्मुल महत्वपुर्ण रहेको बताउनुभयो। उहाले महिला र मातृ स्वास्थ्य सुधारका लागि सरकारले आमा सुरक्षा कार्यक्रम, निशूल्क पाठेघरको शल्यक्रिया जस्ता कार्यक्रमहरु ल्याएको औल्याउनुभयो। साथै यी सबै कार्यक्रमको सफलताका लागि समुदाय र यस क्षेत्रमा कार्यरत गैरसरकारी संघसंस्थाको महत्वपुर्ण भुमिका हुने उहाको भनाई थियो।
कार्यक्रममा 'पहुँच तथा प्रतिष्ठाको लागि सहस्राब्दी विकास लक्ष्य ५ख को प्राप्ती' बिषयमा कार्यपत्र प्रस्तुत गर्दै ओरेक नेपालका अध्यक्ष डा. रेणु राजभन्डारीले महिला स्वास्थ्यमा प्रभाव पार्ने सबै भन्दा ठुलो कारण महिलामाथि हुने हिंसा नै रहेको औल्याउनुभयो। उहाले महिला स्वास्थ्यलाई प्रभाव पार्ने महत्वपूर्ण र निर्णायक तत्व महिलामाथि हुने विभेद भएको बताउदै विभेदकै कारण सामाजिक, आर्थिक, सांस्कृतिक, शारीरिक, यौनिक हिंसाहरू जन्मिएको उल्लेख गर्नुभयो। देशको अग्रगामी रूपान्तरणले मात्र यस्ता असमानतालाई सम्बोधन गरी महिलाहिंसामुक्त रहनका लागि वातावरण तयार हुन सक्ने र यो अवस्थाले पितृसत्तात्मक सोच र संरचनामा परिवर्तन ल्याउने आधार तयार गर्न सक्ने उहाले बताउनुभयो। कार्यपत्रमा सन् १९९० देखि सन् २०१५ सम्ममा मातृमृत्युदर एक तिहाईमा झार्न सरकारले अहिलेसम्म गरेका काम, यसबाट प्राप्त उपलब्धी र चुनौतिहरु औल्याईएको छ।
कार्यक्रममा केड नेपालका तर्फबाट महिला हिंसा र जनस्वास्थ्य बिषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो।
कार्यक्रममा परिवार स्वास्थ्य महाशाखाका सुष्मा बैधवारले पाठेघर खस्ने समस्या भएका महिलाहरुलाई सरकारले ल्याएको निशुल्क शल्यक्रिया गर्ने लगायत अन्य कार्यक्रमका बारेमा जानकारी दिनुभएको थियो।
काठमाडौँ महिला बिकास अधिकृत शारदा बस्यालले सरकारी निकायमा समन्वयको अभाबका कारण स्रोत साधन भएर पनि कतिपय अबस्थामा कार्यक्रमहरु सफल नभएको प्रष्टयाउनुभएको थियो। उहाले काम गर्ने जाँगर र इच्छा हुँदाहँदै पनि काम गर्ने स्वतन्त्र वातावरण नभएका कारण पनि सरकारी निकायका काम परिणाममूलक हुन र सफल हुन निकै समस्या पर्ने गरेको उल्लेख गर्नुभयो।
कार्यक्रमका अर्का बक्ता प्रधानमन्त्री कार्यालय अर्न्तगत महिलाहिंसा बिरुद्धको ईकाईका प्रतिनीधि महेश्वरी बिष्टले महिला हिंसा बिरुद्ध सरकारले अब गर्ने कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो
कार्यक्रममा बाहिर जिल्लाबाट र काठमाडौका बिभीन्न संघसस्थाका गरि ८० जनाभन्दा बढी सहभागि थिए।